काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई २९ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डूले १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमात्र बनाउन सक्यो ।
काठमाण्डूका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । जोन सिम्पसनले २४ रन थप्दा भीम सार्कीले १२, मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन थपे ।
काठमाण्डूका अलराउन्डर आदील आलम ‘गोल्डेन डक’ भए । काठमाण्डूलाई सस्तैमा समेट्न सुदूरपश्चिमका स्कट कुग्गेलिन, हेमन्त धामी र ब्याटिङतर्फ अर्धशतक बनाएका हर्मित सिंहले समान दुई विकेट लिए ।
इशान पाण्डे, नरेन साउद र अविनाश बोहराको नाममा समान एक विकेट रह्यो । यस्तै सुदूरपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रन बनाए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन, आसिफ सेखले २५ रन र इशान पाण्डेले ११ रन थपे । यसबाहेक, सुदूरका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सुदूरले ओपनरद्व विनोद भण्डारी र जस ब्रोनलाई पहिलो ओभरमै गुमाएको थियो । विनोद र ब्रोन दुवै ‘डक’ भएका थिए ।
अस्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिन पनि दुई रन थप्दै आउट भए । नरेन साउदले ६ रन जोड्दा स्कट कुग्गेलिन र अबिनाश बोहराले एक–एक रनमात्रै बनाए । हेमन्त धामी तीन रनमा अविजित रहे ।
काठमाण्डूका कप्तान करण केसीले चार विकेट लिए । मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले समान दुई विकेट लिए ।