काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्ष कार्यक्रम सुरु गर्ने भएको छ।
पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै सङ्घर्ष कार्यक्रम घोषणा गरेको थियो।
यसअनुसार बुधवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । पार्टीले मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर-बजारमा विरोध कार्यक्रम र कोणसभा गर्दै जनसंपर्क गर्ने तयारी गरेको छ।
त्यसैगरी, मङ्सिर १९ र २१ गते पार्टीले उठाएका माग र मुद्दा अंकित प्लेकार्ड तथा ब्यानरसहित जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना आयोजना गर्ने निर्णय गरेको छ। जिल्ला स्तरका विरोध सभारजनसभा मङ्सिर २७ देखि पौष ४ सम्म आयोजना हुनेछन्। प्रदेशस्तरीय जनप्रदर्शन र विरोध सभाका कार्यक्रम अन्तर्गत पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, र पुस १७ गते भैरहवामा कार्यक्रम तय गरिएको छ।
यसका अन्य विरोधका कार्यक्रमहरू पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताए।