काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ ।
२८ बुँदे मुख्य मागसहित विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको हो ।
प्रदेशस्तरीय कार्यक्रम अन्तर्गत पुस १२ गते विराटनगरमा, १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते विरगञ्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
यसबीच सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरुको अधिवेशनसमेत सम्पन्न गरिएको उनको भनाइ छ ।
जसपा नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निधारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसद्को व्यवस्थालगायतका माग र मुद्दा उठाउँदै मंसिर १० गतेदेखि संघर्षका कार्यक्रम गर्दै आएको छ।
यसअघि जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा÷जन सभा गरेको थियो ।