काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर देशको राजनीतिक संकट समाधानका लागि राजा, राजनीतिक दल र जेनजीबीच ‘नवीन समझदारी’ को प्रस्ताव अघि सारेका छन् ।
शनिबार बालुवाटारमा भेटेर राप्रपाले प्रधानमन्त्रीसमक्ष पाँच बुँदे ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा राप्रपाले मुलुकलाई दीर्घकालीन समाधान दिन राजा, राजनीतिक दल र जेनजी प्रतिनिधिहरू सहभागी हुने सर्वपक्षीय सम्मेलन बोलाउन अनुरोध गरिएको छ।
राप्रपाले भनेको छ, 'आगामी निर्वाचनभन्दा अगावै कोही कसैले आन्दोलन गर्नु नपर्ने वातावरण बनाउँदै स्थायी राजनीतिक निकास दिन सर्वपक्षीय सम्मेलन आवश्यक छ।'
जेनजी आन्दोलन २०८४ सालको निर्वाचन दुई वर्ष पछाडि सार्नका लागि होइन भन्ने स्पष्टिकरण राप्रपाले ज्ञापनमा उल्लेख गरेको छ। साथै फागुन २१ गते हुने निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदान गर्ने व्यवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ।
राप्रपाले जेनजी आन्दोलनमा सहभागी युवामाथि भइरहेको प्रहरी गिरफ्तारी तत्काल रोक्न माग गरेको छ। ज्ञापनमा भनिएको छ,'प्रधानमन्त्रीसँग भेट्न चाहने जेनजीहरूलाई दमन र उपेक्षा गर्नु उपयुक्त होइन। वार्ता–संवाद नै समाधानको बाटो हो।'
आन्दोलनमा मारिएका सहिदका परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर्न पनि राप्रपाले जोड दिएको छ।प्रधानमन्त्रीसँग भेट्न अनुमति नपाएका जेनजी प्रतिनिधिहरूबारे पनि राप्रपाले गम्भीर चासो व्यक्त गरेको छ ।