एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति इसाक हर्जोगलाई भ्रष्टाचार मुद्दामा माफी दिन औपचारिक अनुरोध गर्दै पत्र लेखेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार हर्जोगले यो ‘असाधारण अनुरोध’ लाई विचार गर्नुअघि न्यायिक अधिकारीहरूको राय लिने बताएका छन् ।
विगत पाँच वर्षदेखि नेतन्याहू तीन फरक मुद्दामा घूसखोरी, ठगी र विश्वास उल्लङ्घनको आरोप सामना गर्दै आएका छन्। उनले यी आरोपहरू अस्वीकार गरेका छन्।
यस महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जोगलाई नेतन्याहूलाई ‘पूर्ण रूपमा माफी’ दिन अपिल गरेका थिए। त्यतिबेला हर्जोगले कुनै पनि व्यक्तिले माफीको लागि औपचारिक रूपमा अनुरोध गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्री कार्यालयको तर्फबाट आइतबार जारी विज्ञप्तिमा नेतन्याहूले राष्ट्रपति कार्यालयको कानुनी विभागलाई आफ्नो माफीको आवेदन पठाइसकेको बताइएको छ ।