धनगढी । गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन् ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा मन्त्रालयका सहसचिव र उपसचिवसंगै मन्त्री अर्याल आज धनगढी पुगेका हुन् ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भोलि हुने गोष्ठीमा सुदूरपश्चिमको समग्र शान्तिसुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे छलफल हुनेछ।
साथै आगामी फागुण २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सुदूरपश्चिम सरकारका तर्फबाट प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
त्यसैका लागि आज दिउँसो गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि धनगढी पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले
जनाएको छ ।