काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त बेदप्रसाद शिवाकोटीले काठमाडौं महानगरपालिकास्थित भीमसेनगोला कात्यायानी मन्दिर नजिकको करोडौं मूल्य पर्ने जग्गा कीर्ते गरी हडपेको खुलेको छ ।
साविक बुद्धिराज भट्टराईको नाममा रहेको काठमाडौं जिल्ला का.म.न.पा.३४, भीमसेनगोलास्थित १० रोपनी जग्गा अख्तियारका पूर्वआयुक्त शिवाकोटी, तत्कालीन का.म.न.पा. ३४ वडाका अध्यक्ष भोलाप्रसाद लामिछाने, नापी कार्यालय डिल्लीबजार र पशुपति तहविल गुठीका तत्कालीन प्रमुखसमेतको मिलेमतोमा कीर्ते कागजात बनाएर हडपेको तथ्य अनलाइन नेपालले फेलापारेको छ ।
शिवाकोटी भ्रष्टाचार नियन्त्रण गर्ने निकायको पदाधिकारी भएर पदको दुरुपयोग गरी हडपेको सोही जग्गामा घर बनाएर बसेका छन् ।
काठमाडौं जिल्ला, का.म.न.पा.३४ स्थित भीमसेनगोला, नापीको समयमा नापनक्सामा भीमसेनागोला–२ (घ) कित्ता नं. ७, ऐ वडा नं. १ (ख) कित्ता नंं. ४२, ऐ कित्ता नं. ३७, ३८ र ५८ लगायतका ५ कित्ता करिब १० रोपनी जग्गा मालपोत कार्यालय डिल्लीबजार तथा नापी कार्यालय डिल्लीबजारसँग मिलेमतो गरी शिवाकोटीहरुले कीर्ते कागजात तयार गरी ती कित्ता जग्गाहरुलाई बिभिन्न कित्ता कायम गरी बिभिन्न शक्ति तथा आफ्ना एकाघर परिवारका नाममा जग्गाधनी प्रमाणपूर्जा बनाएर घर बनाएर बसेका छन् ।
उक्त पाँच कित्ता जग्गा हडपिएपछि बुद्धिराज भट्टराईका नाति उक्त जग्गाका हकवाला श्यामराज भट्टराई आफ्नो जग्गा फिर्ता पाउनका लागि न्याय माग्न अदालत धाएको बर्षौंबर्ष भइसकेको छ ।
तर पैसा र शक्तिको आडमा शिवाकोटीहरुले सुकुम्बासी बनाइएका भट्टराईले आफ्नै जग्गा पाउन सकेका छैनन् । श्यामराज आफ्नो हडपिएको जग्गा फिर्ता पाउनका लागि न्याय माग्दै अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सबै निकायमा पुगेका छन् ।
तर अदालतदेखि अख्तियार शिवाकोटीको प्रभाव र दबाबमा पर्दा जग्गाधनी श्यामराजले न्याय पाउन सकेका छैनन् ।
शिवाकोटी–लामिछाने समूहले यसरी हडप्यो १० रोपनी जग्गा
एकातिर शिवाकोटीहरुले कीर्ते गरी घर बनाइसकेको अवस्था छ भने अर्कोतिर मालपोत कार्यालय डिल्लीबजारमा उक्त कित्ता जमिन मोठ श्रेस्तामा दर्ता बाँकी रहेको अवस्था हुँदा छुट जग्गा दर्ता प्रक्रियामा साबिक जग्गाधनी बुद्धिराज भट्टराईका छोरा बिमलराज भट्टराईले मालपोत कार्यालय डिल्लीबजारमा निवेदन दिई उक्त निवेदनउपर कारबाही हुँदा २०६६ असोज २ गते हकदाबी सम्बन्धी गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचनाले नै देखाउँछ ।
[caption id="attachment_380713" align="alignnone" width="1132"]
साविक जग्गाधनी बुद्धिराज भट्टराईका छोरा बिमलराज भट्टराईको निवेदनपछि दर्ता छुट भएको जग्गाको बारेमा गोरखापत्रमा प्रकाशित सूचना ।[/caption]
उक्त कित्ता जग्गाहरु मालपोत कार्यालय डिल्लीबजार, नापी कार्यालय डिल्लीबजारसमेतलाई प्रतिवादी बनाई साबिक जग्गाधनीका नाति श्यामराज भट्टराईले काठमाडौं जिल्ला अदालतमा ०७९ सी ४-३६६७ कीर्ते जालसाजी मुद्दा दायर गरेका र प्रतिवादीहरुका नाममा म्याद जारी भएकोमा निजहरुले शक्तिको दुरुपयोग गरी म्यादसमेत बेपत्ता बनाएको हुँदा काठमाडौं जिल्ला अदालतबाट मुलुकी देवानी कार्यबिधि संहिता २०७४ अनुसार सार्वजनिक सूचना प्रकाशित गर्दा समेत म्यादभित्र उपस्थित नभएको हुँदा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासबाट २०८१ जेठ ३१ गते उक्त मुद्दामा बिभिन्न आदेश गरेको प्रमाणका रुपमा उक्त आदेशले नै देखाउँछ ।
[caption id="attachment_380712" align="alignnone" width="1000"]
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले गरेको आदेश[/caption]
त्यति हुँदाहुँदै पनि आर्थिक प्रलोभन तथा शक्तिको दबाबमा २०८१ भदौ ७ गते प्रतिवादीहरुलाई प्रतिउत्तरपत्र दर्ता गर्न गराउन भनी आदेश गरेको हुँदा उक्त आदेशबिरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएकोमा जिल्ला अदालतकै फैसला सदर गरेको अवस्था छ ।
काठमाडौं जिल्ला अदालतका अर्का न्यायाधीश महेन्द्रराज काफ्लेले म्यादभित्र नआएका प्रतिवादीहरुलाई प्रतिउत्तर लाउन पाउने आदेश दिएको छ ।
प्रतिवादीहरु म्यादभित्र उपस्थित नभए पनि जिल्ला अदालत काठमाडौंबाट प्रतिउत्तर लगाउन दिने बदनियतपूर्ण आदेश दिने न्यायाधीश काफ्लेमाथि कारबाही गर्न माग गर्दै न्यायपरिषदमा उजुरी समेत परिसकेको छ ।
बुद्धिराज भट्टराईका छोरा श्यामराज भट्टराईलाई प्राकृतिक न्यायको सिद्धान्तबिपरीत कीर्ते कागजात तयार गरी जग्गा हडपेर सम्पत्तिबाटै बेदखल गर्ने कार्य संवैधानिक निकायका अख्तियारका आयुक्त भइसकेका शिवाकोटीले गरेका छन् ।
जसमा जिल्ला अदालतका न्यायाधीश काफ्लेले पनि साथ दिएका छन् ।
पशुपतिनाथ मन्दिर तहवील गुठी कार्यालयसँग जिल्ला अदालत काठमाडौंले पत्राचार गरी के कसरी उक्त जग्गाहरु गुठीका नाममा दर्ता भएका हुन्, सोका बारेमा निर्णय मिसिल पठाउनू भनी लेखिएको थियो ।
गुठी कार्यालयबाट उक्त जग्गाका बारेमा कुनै प्रमाण कागज छैन भनी लेखी आएकाले पूर्वआयुक्त शिवाकोटी, पूर्व वडाध्यक्ष भोला लामिछाने र उमादेवी भट्टराईले कीर्ते गरी करोडौं मूल्यको जग्गा गैरकानूनी रुपमा हडपेको स्वतः पुष्टि हुने श्यामराज भट्टराईको भनाइ छ ।
शिवाकोटीहरुले वास्तविक जग्गाधनी श्यामराज भट्टराईको नामको १० रोपनी जग्गा हडपी उनलाई सडकमा पुर्याएका छन् । १० रोपनी जग्गाका मालिक श्यामराज आज बस्ने डेराको भाडासमेत तिर्न नसक्ने अवस्थामा छन् ।
अख्तियारको आयुक्त हुँदा पदको दुरुपयोग गरी शिवाकोटीले वडाध्यक्ष लामिछाने र नापी कार्यालयका कर्मचारीसँग मिलेर श्यामराजको १० रोपनी जग्गा हडपी उनलाई सडकमा पुर्याएका छन् ।
१० रोपनी जग्गा कीर्ते गरी हडपेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त शिवाकोटीले अंश बुझिसकेकाहरुले दिदीबहिनीहरुसँगको विवादका कारण अनावश्यक मुद्दा मामिला गरेको बताए । उनले अनलाइन नेपालसँग शुक्रबार भने–‘यसबारेमा मेरो अरु कुनै प्रतिक्रिया छैन । यो समाचार बनाउने बिषय होइन ।’
श्यामराजको जग्गा कीेर्ते कागजात तयार गरी गुठीमा दर्ता गरी गैरकानूनी रुपमा कब्जा गरेका शिवाकोटीले अदालतमा बहस समेत आफैं गरेको पनि खुलेको छ ।
संवैधानिक आयोगमा नियुक्त भई कार्यकाल पूरा गरेको पदाधिकारीले बहस गर्न पाउँदैनन् । तर उनले आफूसमेत मिलेर कीर्ते गरी हडपेको जग्गाका बिरुद्ध परेको मुद्दामा बहस गरेका थिए ।
यसबारेमा अख्तियारका पूर्वआयुक्त शिवाकोटीले सर्वोच्च अदालतका न्यायाधीशले बाहेक अरुलाई बहस गर्न बन्देज नभएको प्रतिक्रिया दिए ।