काठमाडौँ । २३ र २४ भदौका भएको जेनजी आन्दोलन घटनाको छानबिन जारी छ । तर नीतिगत निर्देशन र निर्णय गर्ने तहका मुख्य अधिकारीहरू बयान दिन नआएपछि घटना जाँचबुझ गर्न गठित आयोगले कडा कदम चाल्ने तयारी गरेको छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बयानमा उपस्थिति नजनाएपछि ‘पक्राउ गरेर बयानमा ल्याउने’ रणनीति बनाएको जनाएको छ । आयोगको म्याद ५ असोजदेखि ३ महिनाका लागि दिइएको थियो, तर अब करिब दुई हप्ता मात्र बाँकी छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार हालसम्म करिब डेढ सय जनाको बयान सकिएको छ । फील्डमा खटिएका सुरक्षाकर्मी र प्रशासनबाट बयान लिएपछि अब आयोग राजनीतिक तहतर्फ प्रवेश गरेको हो ।
अहिलेसम्म बयान नदिएका प्रमुख व्यक्तिहरूमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ रहेका छन् ।