Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा समुन्नत नेपाल पार्टीको औपचारिक घोषणा, सर्वेन्द्र खनाल सभापति चयन

चितवनमा समुन्नत नेपाल पार्टीको औपचारिक घोषणा, सर्वेन्द्र खनाल सभापति चयन

शनिवार , मंसिर २७, २०८२

चितवन । समुन्नत नेपाल पार्टीको औपचारिक घोषणासभा चितवनमा भएको छ । घोषणासभाबाट पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल पार्टीको सभापतिमा चयन भएका छन् ।

पार्टी उद्घाटन समारोहका अवसरमा ३९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। पार्टीको महामन्त्रीमा वालकृष्ण पण्डित चयन भएका छन् ।

घोषणासभामा विभिन्न क्षेत्रका व्यक्तित्व, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

सभापति खनालले सम्बोधन गर्दै देशमा बढ्दो निराशा, कुशासन र भ्रष्टाचारको अन्त्य गर्दै जनउत्तरदायी र सुशासनयुक्त राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यले समुन्नत नेपाल पार्टी स्थापना गरिएको बताए।

देशलाई आर्थिक समृद्धि, सुशासन र राष्ट्रिय हितको मार्गमा अघि बढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक भइसकेको उनको भनाइ छ ।

महामन्त्री वालकृष्ण पण्डितले पार्टीले नागरिकको भावना र चाहनालाई केन्द्रमा राखेर नीतिगत सुधार, रोजगारी सिर्जना र समावेशी विकासलाई प्राथमिकतामा राख्ने बताए । उनले पार्टीले व्यवहारिक नीति र परिणाममुखी कार्यक्रममार्फत जनविश्वास जित्ने दाबी गरे।

यसैगरी, समुन्नत नेपाल पार्टीका सह–महामन्त्री तथा प्रवक्ता सुदर्शन विक्रम कार्कीले देशको राजनीतिमा जेनजी युवाहरूको भावना र आवाजलाई पर्याप्त रूपमा कदर नगरिएको टिप्पणी गरे। उनले जेनजी युवाहरूले चलाएको आन्दोलनको पृष्ठभूमिमा धेरै नयाँ दलहरू उदाएको उल्लेख गर्दै अब पुराना राजनीतिक दललाई ‘धुलो चटाउने’ समय आएको बताए ।

पार्टीका उपसभापति निर्मलकुमार थापाले अपराधमा संलग्न वा अपराधी छविका व्यक्तिलाई राजनीतिमा अघि सार्ने प्रवृत्तिको कडा विरोध गरे। उनले समुन्नत नेपाल पार्टीले स्वच्छ छवि, इमानदार र उत्तरदायी व्यक्तिहरूलाई मात्र नेतृत्वमा अघि बढाउने स्पष्ट नीति लिएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077