काठमाडौं । बिचौलियाको रोजाईअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष बनेका सन्तोषनारायण श्रेष्ठलाई जेनजी आन्दोलनपछि बनेको सरकारले पनि हटाउन सकेको छैन ।
जबकि अघिल्लो सरकारको समयमा उनले आइपिओ निष्कासन रोकेर घुस मागेको र नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लागेको थियो ।
बिचौलिया दीपक भट्टको समूहको लबिङमा नियुक्त भएका श्रेष्ठमाथि हाइड्रोपावर व्यवसायीले संगठित रुपमै उनीमाथि घुस मागेको आरोप लगाएका थिए ।
श्रेष्ठले आफ्नै लगानी रहेको हाइड्रोको शेयर निष्कासन अनुमति दिएर अरुको रोकेका थिए। कमजोर आर्थिक अवस्था भएका कतिपय कम्पनीको शेयर प्रिमियममा बिक्री गर्न उनले अनुमति दिएका थिए।
यी प्रकरणमा उनीमाथि सबैतिर छानबिनको माग उठेको थियो । त्यतीबेला श्रेष्ठको चर्को आलोचना गर्नेमध्ये एक दीपेन्द्र अग्रवाल थिए । अहिले श्रेष्ठले उनै अग्रवाललाई पक्राउ गराएर प्रतिशोध लिन थालेका छन् ।
जसकारण अहिले पनि बोर्डमा बिचौलियाकै हालीमुहाली देखिएको शेयर विश्लेषकहरूले आरोप लगाउन थालेका छन् । बोर्डको सिफारिसमा सिआइबीले अग्रवाललाई शुक्रवार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको हो ।
अग्रवालले पछिल्लो समय सेबोन अध्यक्ष श्रेष्ठले आईपीओ निष्कासनको नाममा धितोपत्र बोर्डमा मलजल गरेको भ्रष्टाचारको खुलेआम विरोध गर्ने गरेका थिए । बजार सुधारका लागि भन्दै अग्रवालकै सक्रियतामा जेनजी लगानीकर्ताहरूको फोरम समेत गठन भएको थियो ।
पछिल्लो समय जेनजी लगानीकर्ताहरुबाट श्रेष्ठ भागी–भागी हिँड्न बाध्य भएका थिए । लगातार १५ दिनसम्म फलो गर्दा समेत जेनजी लगानीकर्ताहरूसँग भेट्न, छलफल गर्न र उनीहरूको माग सुन्न श्रेष्ठ तयार देखिएका छैनन् ।
जेनजी लगानीकर्ताहरुले आईपीओ निष्कासनको नाममा विभिन्न कम्पनीबाट करोडौं भ्रष्टाचारमा संलग्न श्रेष्ठमाथि छानबिन हुनुपर्ने र उनी दोषी देखिए बर्खास्त गर्नुपर्ने माग उठाउँदै आएका छन् ।
पछिल्लो समयको विवादास्पद रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा श्रेष्ठले साढे ९ करोड रुपैयाँ घूस बुझेका भनेर विभिन्न समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अर्थ मन्त्रालयसम्म उजुरीहरू हालेका छन् ।
तिनै उजुरीहरूलाई समेत आधार बनाएर जेनजी लगानीकर्ताले छानबिन हुनुपर्ने माग गरिरहेका छन् । सोही मागअनुसार अर्थ मन्त्रालयले हालै एक समिति गठन गरेको छ ।
रिलायन्सको आईपीओको विषयमा उठेका प्रश्नहरू छल्दै हिँडेका श्रेष्ठ आफूलाई कसैले केही गर्न नसक्ने र आफूविरुद्ध लाग्नेहरुलाई देखाइदिने भन्दै प्रतिशोध साँध्ने काममा संलग्न देखिएका छन् ।
उनले रिलायन्सको आईपीओलाई मुद्दा जिताउने भूमिका मात्रै खेलेका थिएनन्, तीव्र गतिमा आईपीओ निष्कासन प्रक्रिया सुरु गराएर राम्रै मिलेमतोको उदाहरण समेत प्रस्तुत गरेका थिए ।
अर्थ मन्त्रालयदेखि अख्तियारसम्म उजुरी दिने, छानबिन समिति गठन गर्न बाध्य पार्ने काममा मुख्य भूमिका खेलेका दीपेन्द्र अग्रवालविरुद्ध उनले प्रतिशोध लिएको आरोप लगाएको छ ।
हचुवाको भरमा अग्रवालमाथि कृत्रिम रूपमा मूल्य बढाएको तथा गलत हल्ला फैलाएर शेयर बेचेको जस्ता हावादारी आरोप लगाएर पक्राउ गर्न सिआइबीलाई पत्राचार गराएका थिए ।
किन विरोधमा उत्रिए शेयर कारोबारी ?
नेपालको सेयर बजारमा भित्री कारोबार गर्ने, निर्देशित कारोबार गर्ने धन्दा लामो समयदेखि फस्टाएको छ । विभिन्न कम्पनीको सेयरमा भित्री कारोबार गर्ने, सर्वसाधारणमा गलत सूचना दिएर आफूले चाहिँ फाइदा लुट्ने विभिन्न व्यक्ति तथा समूह सक्रिय छन् ।
दर्जनौँ कम्पनीको सेयर मूल्य वित्तीय विवरण कमजोर हुँदाहुँदै पनि पम्प एण्ड डम्पको खेल खेली बढाइएको छ । यसको अर्थ यस्ता धन्दामा अग्रवाल मात्र होइन सयौँ संलग्न छन् ।
यस्ता खेलमा संलग्न सेयरका अन्य खेलाडीहरूको विषयमा समेत बेला–बेला धितोपत्र बोर्डले छानबिन गर्ने गर्छ । यस्ता दर्जनौँ फाइल बोर्डमा थन्किएर बसेका छन् ।
उस्तै प्रकृतिको दीपेन्द्र अग्रवालको फाइल मात्र त्यो थाकको बीचबाट झिकेर प्रहरीलाई पठाइनुले यसमा प्रष्ट प्रतिशोध देखिएको शेयर विश्लेषणहरु बताउँछन् ।
अग्रवाल पक्राउ परेलगत्तै सेयर बजारमा काका उपनामले चर्चित लगानीकर्ता केशव कोइरालाले घटनाको विरोध गरेका छन् । ‘के अस्वभाविक मूल्य बढेको कर्पोरेट डेभलपमेन्ट बैंकको दीपेन्द्र अग्रवालले मात्र हो ? अरु कम्पनी छैनन् ?’, प्रश्न गर्दै कोइरालाले लेखेका छन्,‘अनुसन्धान र अभियोग लगाए सबैलाई लगाउनुपर्छ । एउटा दीपेन्द्र अग्रवाललाई मात्र चाहिँ बलीको बोका बनाउन पाइँदैन ।’

बजारकै अर्का चर्चित लगानीकर्ता अजय चपाईंले पनि धितोपत्र बोर्डले अग्रवाललाई खोरमा जाक्ने कामको विरोध गरेका छन् । ‘दीपेन्द्र अग्रवाललाई जुन केसमा पक्राउ गरिएको छ, त्यो केसमा पक्राउ गर्दै जाने हो भने बाँकी बजारको कुन अपरेटर रहला र ?’, उनले प्रश्न उठाउँदै लेखेका छन्, ‘दोस्रो बजार नै बन्द गरिदिए भइहाल्छ नि ।’
उनले आफ्नो स्ट्याटसमा पछिल्लो समय कुन–कुन कम्पनीको सेयरमा कस–कसको नेतृत्वमा मूल्य बढाउने खेल खेलिएको थियो, त्यो फेहरिस्त राख्दै ती व्यक्तिहरूको विषयमा अनुसन्धान गर्न र पक्राउ गर्न चुनौती समेत दिएका छन् ।
अग्रवालले आफ्नो फेसबुक पेजमा पनि निजी लगानीकर्ताहरूको प्रदर्शन, अर्थ मन्त्रालयबाट रिलायन्सको आईपीओको विषयमा छानबिन गर्न लेखिएको पत्र लगायतमा विरोध गरेको देखिन्छ ।
उनले पछिल्लो समय लगातार सन्तोषनारायणलाई ‘भ्रष्टनारायण श्रेष्ठ’ भन्दै विरोध गर्ने गरेका थिए । सन्तोषनारायणले पछिल्लो समय आफ्नो लगानी, आफन्त तथा साथीभाइको लगानी रहेका कमजोर कम्पनीहरूलाई समेत आईपीओ निष्कासन गर्न दिएको विषयमा समेत उनले प्रश्न उठाउने गरेका थिए ।

यही बेला उनलाई हचुवाको भरमा आरोप लगाएर पक्राउ गर्नुले श्रेष्ठ अझै पनि बिचौलिया समूहकै निर्देशनअनुसार चलिरहेको प्रष्ट भएको छ ।
धितोपत्र बोर्डको अनियमिततामाथि प्रश्न उठाउनेको मुख बन्द गर्न उनले यो कदम चालेको चर्चा शेयर बजारमा छ । यस विषयमा उनीहरूले अर्थ मन्त्रालयको समेत ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि श्रेष्ठको बयान लिइसकेको छ । हस्तक्षेप नभएमा उनीविरुद्ध मुद्दा चल्ने प्रमाणहरू संकलन भइसकेको अख्तियार स्रोत बताउँछ ।