काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच उच्चस्तरीय वार्ता हुने भएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले आगामी पुस १५ गतेभित्र दुई पक्षबीच निर्णायक संवाद गर्ने गरी समय निर्धारण गरेको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले सोमबार महाअभियानको वार्ता समितिलाई पत्र पठाउँदै सरकार र महाअभियानबीच भइरहेको संवादलाई उच्च तहमा लैजाने जानकारी गराए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा गठित सरकारी वार्ता समिति र महाअभियानका प्रतिनिधिहरूबीच गत पुस १ गतेदेखि निरन्तर छलफल भइरहेको पृष्ठभूमिमा यो नयाँ पहल सार्वजनिक भएको हो ।
महाअभियानले सरकारसमक्ष विभिन्न २७ बुँदे माग प्रस्तुत गरेको छ, जसमा केही राजनीतिक र केही आर्थिक मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको छ ।