काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘हामी नेपाल’ का संस्थापक तथा काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङ र विभिन्न प्रदेश संयोजकहरूसँग छलफल गरेका छन् ।
ललितपुरस्थित मेयर शाह निकट व्यक्ति कुमार बेनको घरमा भएको छलफलमा जेनजी आन्दोलन, वैकल्पिक राजनीति र आगामी निर्वाचनका विषयमा विचार–विमर्श भएको हो ।
मेयर शाह प्रत्यक्ष राजनीतिमा होमिने अन्तिम तयारीमा छन् । वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्दै आसन्न निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ उनले पछिल्लो समय विभिन्न समूह र नेतृत्वसँग घनीभूत छलफल गरिरहेका छन् । आजै मात्र उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए ।
छलफलका क्रममा मेयर शाहले आफू संघीयताको पक्षधर नै रहेको स्पष्ट पारेका छन् । बालेनले संघीयता विरोधी भनेर फैलाइएको हल्लाप्रति अनभिज्ञता प्रकट गर्दै त्यसलाई निराधार भनेको बताइएको छ ।
मेयर शाहले सबै जेनजी शक्तिहरू एक ठाउँमा आएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । साथै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग पनि भोलि छलफल गर्ने र त्यसबाट कुनै निचोडमा पुग्ने बताए ।
आजै बालेनले ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईसहित अन्य नेताहरू, कांग्रेस नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बमसहित जेनजी प्रतिनिधिलगायतसँग भेट गरे ।