अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–११ बोक्सेमा बेवारिसे अवस्थामा विभिन्न प्रकारका हातहतियार तथा विस्फोटक पदार्थ फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको ग्रामीण गस्ती टोलीले आज बिहान करिब १० बजे बोक्सेस्थित पुरानो, कोही नबस्ने गोठ (थारो) भित्र लुकाइ राखिएको अवस्थामा ती सामग्रीहरू बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीका अनुसार गोठभित्रबाट भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर १२ थान, प्लास्टिकको पाइप (२५ इन्च लम्बाइ) लन्चरजस्तो देखिने पदार्थ ३ थान, ५ लिटरको प्रेसर कुकर बम १ थान, स्टिलको डल्लु बम १ थान, बिजुलीको तार ४ बण्डल र बारुद अन्दाजी ५०० ग्राम बरामद गरिएको हो ।
बरामद गरिएका भरुवा बन्दुक २ थान बाहेकका सबै विस्फोटक पदार्थहरू नेपाली सेनाको प्राविधिक टोलीको सहयोगमा सुरक्षित रूपमा डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यी हतियार नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को रहेको खुलेको छ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' ले भने कम्युनमा छापा मारिएको घटनालाई 'राज्यको श्वेत आतंक' को संज्ञा दिएका छन्।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने भनी प्रचार गर्ने, अर्कातिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहँदैन, बरू देशलाई अशान्तितिर धकेल्न चाहन्छ भन्ने पुष्टि भएको छ।'