Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन मोरङमा हवाई फायर

गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन मोरङमा हवाई फायर

सोमवार , पौष १४, २०८२

विराटनगर । गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन मोरङमा प्रहरीले आइतबार राति हवाई फायर गरेको छ ।

केराबारी गाउँपालिका–५ लाफा टोलमा राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले शंकास्पद अवस्थामा प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकेको सोही बेला हवाई फायर भएको हो ।

धनकुटाबाट मोरङ हुँदै भारततर्फ गाँजा ल्याइँदैछ भन्ने सूचनाका आधारमा इन्स्पेक्टर राजीव गिरी र असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

प्रहरीले रोक्नासाथ एम्बुलेन्समा सवार व्यक्ति भाग्न खोजेपछि नियन्त्रणका लागि असई तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन्।

खानतलासीका क्रममा एम्बुलेन्सभित्र १६ वटा पोकामा प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको एसपी कटवालले बताए। गाँजाको तौल लिने काम बाँकी रहे पनि प्रारम्भिक अनुमानमा ४८० किलोभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ। इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077