नवलपरासी । नवलपरासीको गुठीप्रसौनी गाउँपालिका–८ बसैया नाका क्षेत्रमा गएराति सुरक्षाकर्मी र भारतीय तस्कर समूहबीच झडप हुँदा सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
सशस्त्र प्रहरी बल नवलपरासीका अनुसार घटना राति करिब १२ बजे पिलर नम्बर ५०२/७ नजिकको भठ्ठा क्षेत्रमा भएको हो ।
सीमावर्ती भारतीय बजार लक्ष्मीपुरतर्फबाट करिब पाँचदेखि छवटा मोटरसाइकलमा आएका व्यक्तिहरूले बोरा भरिएका सुक्खा माछा (सिद्रा) नेपालतर्फ ल्याउँदै गर्दा चेकजाँचको क्रममा विवाद उत्पन्न भएको थियो ।
'प्रहरीले सामान जाँच गर्न खोज्दा उनीहरूले हल्ला मच्चाए, त्यसपछि भारतीय क्षेत्रबाट करिब २५–३० जना थप व्यक्तिहरू आएर प्रहरीमाथि हहुलहुज्जत गर्न थाले,' एसपी सन्तोष रायमाझीले भने, 'स्थिति नियन्त्रणमा लिन बाध्य भएर सुरक्षाकर्मीले दुई राउण्ड हवाई फायर गरेका हुन्।'
हवाई फायरपछि समूह भारततर्फ फर्किएको प्रहरीले जनाएको छ । घटनास्थलबाट मोटरसाइकलबाट खसेका दुई बोरा सिद्रा माछा समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।