कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले लागुऔषध सेवनकै कारण समाजमा अन्य अपराधहरू समेत बढ्दै गएको बताएका छन् ।
उनले लागुऔषध न्युनिकरणका लागि राज्य संयन्त्र मात्र होइन, समाजका सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
प्रदेश युवा परिषद् सुदूरपश्चिमले कञ्चनपुरको वाणीमा आयोजना गरेको लागुऔषध विरुद्धको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै डीआईजी रानाले लागुऔषधको लत युवाहरुमा दिनप्रतिदिन भयावह बन्दै गएको बताएका हुन् ।
उनले घर, विद्यालय, वडा र टोलस्तरबाटै अभिभावक, शिक्षक, समाजसेवी तथा जनप्रतिनिधिहरू लागुऔषधविरुद्ध सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।
उनले अभिभावकहरूले आफ्ना सन्तानको गतिविधिप्रति विशेष चासो राख्नुपर्नेमा जोड दिँदै पछिल्लो समय लागुऔषध सेवनकर्ताको संख्या बढ्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरे।
'लागुऔषधको दुर्व्यसन दिनप्रतिदिन बढ्दैछ, यो डर लाग्दो समस्याका रूपमा उभिएको छ,' डीआईजी रानाले भने, 'यसलाई समयमै रोक्न सके मात्र हाम्रा भाइबहिनीहरू हरेक क्षेत्रमा अघि बढ्न सक्छन् । होइन भने लागुऔषधले कलिला युवाहरूलाई सखाप पार्ने र आमाबुबाले देखेका सपनाहरू निरासामा बदलिने खतरा छ।'
लागुऔषध बेचबिखन वा सेवनमा संलग्न व्यक्तिहरू देखिएमा नजिकको प्रहरी निकायलाई तत्काल जानकारी गराउनसमेत उनले आग्रह गरे ।
डीआईजी रानाका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी लागुऔषध नियन्त्रणका लागि विशेष योजना बनाएर अघि बढिरहेको छ ।