डडेल्धुरा । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले जिल्ला प्रहरी कार्यालय, डडेल्धुराको अनुगमन तथा निरीक्षण गरेका छन् ।
अनुगमनका क्रममा उनले डडेल्धुरा जिल्ला सुरक्षा समितिसँग जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे छलफल गरेका हुन् ।
छलफलमा जिल्लामा कायम सुरक्षा स्थिति, सम्भावित चुनौती र त्यसको न्यूनीकरणका उपायबारे विचार–विमर्श भएको बताइएको छ ।
डीआईजी रानाले शान्ति–सुरक्षा कायम राख्न सबै सुरक्षा निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
निरीक्षणकै क्रममा उनले कार्यरत प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ नागरिक सेवामा तत्परतापूर्वक खटिन निर्देशन दिए ।
साथै, व्यावसायिकता, अनुशासन र जनमैत्री सेवामार्फत प्रहरीप्रतिको विश्वास अझ मजबुत बनाउन आग्रह गरे । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराको अनुगमन गरेका उनी डोटीतर्फ लागेका छन् । भोलि तालिम केन्द्र दिपायलमा जवानहरु पास आउट हुँदैछन् ।