काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला असुली धन्दामा लागेका कारण कर्मचारीहरु नै आतंकित बनेका छन् ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार सचिव निरौलाले मातहतका निकायहरुलाई विगतकै कार्यशैलीमा आर्थिक असुली गर्न थालेका छन् । पर्यटन बिभागका महानिर्देशक रामकृष्ण लामिछानेबाहेक अधिकांश कर्मचारी निरौलाले सरुवा गरेर पठाएका छन् ।
सचिवले सरुवा गरेका अधिकृतदेखि उपसचिवहरुले बिभाग भरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठसँग सेटिङ मिलाएर पर्यटन मन्त्रालयमा सरुवा भएका निरौलाले उनले भनेअनुसार नियुक्तिमा सहजीकरण गर्ने कबोल गरेको स्रोत बताउँछ ।
आदर्शको सूचीअनुसार नियुक्ति गर्न सहजीकरण गर्दैआएका निरौलाले त्यसकै आडमा कर्मचारीको सरुवामा लाभ लिइरहेका छन् । उपसचिव हिमाल शर्मा लगायत ठूलो संख्याका कर्मचारी सचिव निरौलालाई ‘जय नेपाल दाइ’ भनेकै भरमा सरुवा भएका छन् ।
उपसचिव लिलाधर अवस्थी लगायतका कर्मचारी मन्त्रालय लगायत अन्य निकायमा पठाइएको छ । पर्यटन मन्त्रालयमा नारायणहिटी दरबार संग्रहालय विकास समिति ‘लो प्रोफाइल’को कार्यालय हो ।
मन्त्री र सचिवका लागि मन नपर्ने कर्मचारीहरु उक्त कार्यालयमा सरुवा गरेर पठाइन्छ । निरौलालले पनि त्यही शैली अपनाउँदै सरुवा गरेका छन् । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई जिम्मेवारी दिइएको छ ।
उनी भन्दा बरिष्ठ ३ जना हुँदाहुँदै कनिष्ट कर्णलाई जिम्मेवारी दिंदा पनि निरौलाले ‘मन्त्री मिलाउन गाह्रो भो कर्णजी’ भन्दै असुली गरेको आरोप छ । पर्यटन मन्त्रीको जिम्मा अनिलकुमार सिन्हाले पाएको भोलिपल्टै कर्णको नियुक्ति भएको हो ।
सिन्हाले मन्त्रालयको जिम्मा पाउनुअघि नै निरौला सचिवका रुपमा बहाली गरिसकेका थिए । प्रधानमन्त्री सुशीला कार्कीले कर्णलाई जिम्मेवारी दिन हिच्किचाइरहेका बेला मन्त्रीका रुपमा सिन्हा आएपछि कर्णलाई डीजी बनाउन निरौलालाई सहज भएको थियो ।
पर्यटन बिभागको महानिर्देशक बनाउनका लागि निरौलाले ब्रिफकेस बुझाउन सक्ने क्षमताका सहसचिवको खोजी गरिरहेका छन् । आदर्श श्रेष्ठको नाम लिंदै उनले लाभका आधारमा कर्मचारी सरुवा गर्दैआएको आरोप छ ।
बागमती प्रदेशको प्रमुख सचिव हुँदा यातायात कार्यालयका कर्मचारी सरुवामा उनले ठूलो रकम असुली गरेका थिए । बागमती प्रदेशबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा भएका निरौलाले उद्योग बिभाग, कम्पनी रजिष्टार, बाणिज्य बिभागमा समेत असुली अभियान नै चलाएका थिए ।
उद्योग बिभागदेखि कम्पनीमा मात्र घुमीघुमी कार्यरत रहेका भतिज नाता पर्ने नायबसुब्बा कमल निरौलालाई परिचालन गरी उनले लाभ लिएका थिए । निरौला उद्योगबाट सामान्य प्रशासन मन्त्रालयमा गएपछि कर्मचारी सरुवामा मन्त्रालय नै बदनाम भएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत उनले बैदेशिक रोजगार बिभागमा कर्मचारी सरुवामा दररेट तोकेको आरोप लागेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव भएपछि एकथरी ठेकेदारसँग मिलेर उजुरी हाल्न लगाउने र रकम झार्ने धन्दा नै संचालन गरेका थिए ।
नेपाल प्रहरीको बन्दोबस्तीको सामान खरिदका बारेमा परेको उजुरीमा टोपेन्द्र बीसीलगायतका ठेकेदारहरुबाट कुस्त लाभ लिएर काइते रिपोर्ट दिएका थिए । प्रहरीको खरिदमा भएको सेटिङमा उनले साथ दिएका थिए ।
तर पछि खरिदमा ४८ करोड अनिययिमतता गरेको सार्वजनिक भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले टेण्डर नै रद्द गर्न लगाउनु परेको थियो ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको कनिष्टलाई नियुक्ति गरेको, प्रधानमन्त्रीका स्वकिय सचिव आर्दशको नाम लिँदै कर्मचारीको सरुवामा आर्थिक लाभ लिएको तथा मन्त्रालयमा असुली आतंक मच्चाएको बारेमा सचिव निरौलासँग अनलाइन नेपालले प्रतिक्रियाका लागि पटकपटक प्रयास गर्दा सम्पर्क हुन सकेन ।