काठमाडौं । जेनजी आन्दोलनको बलमा देशको बागाडोर सम्हाल्न पाएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफ्नै सहयोगीहरुको कर्तुत थाहा पाउन नसक्दा विवादमा तानिएकी छन्।
कहिले मन्त्रीमण्डलमा रहेका सदस्यहरुका कारण त कहिले आफ्नो सचिवालयमा रहेका कर्मचारीहरुका कारण उनी विवादमा तानिएकी हुन् । त्यसैले पनि यतिबेला जेनजीका केही एलाइन्सहरुले उनको विकल्प खोजिरहेका छन् ।
पछिल्लो सयम प्रधानमन्त्री कार्की प्रमुख स्वकीय सचिवका कारण विवादित मात्र बनेकी छैनन् , चरम आलोचना खेपिरहेकी छन् । प्रधानमन्त्री कार्कीले प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका आदर्श श्रेष्ठले श्रीमतीलाई पनि प्रधानमन्त्री कार्यालयमा जागिर लगाएपछि श्रेष्ठसँगै प्रधानमन्त्री कार्की पनि विवादमा तानिएकी हुन् ।
सर्वोच्च अदालतको आइटी महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठ भदौ २९ गते प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त भएका थिए । प्रधानमन्त्री कार्कीले आफ्नो शपथ ग्रहणपछि पदबहाली गरेलगत्तै श्रेष्ठलाई स्वकीय सचिव बनाएकी थिइन् ।
श्रेष्ठले आफू प्रधानमन्त्रीको स्वकीय सचिव नियुक्त भएको पाँच दिनपछि नै आफ्नी श्रीमती संगीतालाई पनि सहसचिव स्तरको स्वकीयका रूपमा नियुक्त गरेका थिए । त्यतिमात्रै होइन आदर्श श्रेष्ठले नातेदारलाई पनि सचिवालयमा राखेका छन्।
यद्यपी प्रधानमन्त्री कार्यालयले भने आज विज्ञप्ति नै जारी गरी अरु नातेदारलाई सचिवालयमा नराखेको भन्दै उल्टो श्रेष्ठको बचाउ गरेपछि जेनजीहरुले नै अचम्म मानेका छन्। थर र जात मिलेकै भरमा आरोप लगाउन नहुने प्रधानमन्त्री कार्यालयको तर्क छ ।
प्रधानमन्त्री कार्कीका विश्वासपात्र श्रेष्ठले आफ्नी श्रीमतीलाई स्वकीय सचिव बनाएको विषयमा प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले पनि बचाउ गरेका छन् । सोमबारै प्रेस वक्तव्य जारी गर्दै उनले प्रधानमन्त्रीको निकट रहेर काम गर्नुपर्ने भएकाले आदर्श श्रेष्ठलाई नियुक्त गरिएको बताएका छन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले असोज २ मा श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका हुन् । त्यस्तै, श्रेष्ठले आफ्ना अन्य नातेदारलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको भन्दै विरोध सुरु भएको छ ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार श्रेष्ठले प्रधानमन्त्री कार्कीको सोझोपनको फाइदा उठाउँदै प्रहरीको सरुवा / वढुवामा समेत अनाबश्यक चासो राख्दै हस्तक्षेप गर्ने गरेका छन्।
केही कर्मचारी र सरकारी निकायका अधिकारीहरुलाई त उनले प्रधानमन्त्री कार्कीको आदेश भन्दै निर्देशन दिएर चलखेल गर्ने गरेको ती अधिकारीले उल्लेख गरे।
स्मरणीय के छ भने एक दशक अघि श्रेष्ठ सर्वोच्च अदालतमा नियुक्त हुँदा पनि विवादमा तानिएका थिए । आइटीको पृष्ठभूमि नै नभएका श्रेष्ठलाई आइटी महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा करारमा नियुक्त गरिएको भन्दै आलोचना भएको थियो ।
श्रेष्ठले मुद्दा मामिलामा सेटिङ गरेर आर्थिक लाभ लिने गरेको त केही संचारमाध्यमले नै पर्दाफास गरिसकेका छन्। अहिले उनले सोही शैली अपनाएर आफ्नो स्वार्थका लागि सरोकार नै नभएका निकायहरुमा पनि फोन गरेर दबाब दिने गरेको बालुवाटार स्रोत बताउँछ ।
प्रधानमन्त्री कार्यालयका अनुसार हाल सचिवालयमा २० जना कर्मचारी कार्यरत छन् ।
जेनजी आन्दोलनका क्रममा नातावाद र कृपावादविरूद्ध ‘नेपो बेबी’ ट्रेन्ड नै चलेको थियो । तर, जेनजी आन्दोलनकै बलमा सरकार प्रमुख बनेकी कार्कीका स्वकीय सचिवले नै आफ्नी श्रीमतीलाई जागिर खुवाएको खुलेपछि अहिले जेनजीहरुले श्रेष्ठको मात्र नभई कार्कीको समेत राजीनामा मागिसकेका छन् ।
रक्षा बम संयोजक रहेको नेपाल जेनजी फ्रन्टले त श्रेष्ठलाई बर्खास्त गर्न सरकारसँग माग गरिसकेको छ ।
जेनजी फ्रन्टले विज्ञप्ति निकाल्दा आदर्श श्रेष्ठले आफ्नो श्रीमती नियुक्त गरेको विरोधमा ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका मिरज ढुंगानासहितका जेनजी नेताहरुलाई भने भित्र छिर्न समेत दिएनन् । सिंहदरबार भित्र छिर्न नपाएपछि उनीहरूले गेटमै ज्ञापन पत्र टाँसेर फर्किएका छन् ।