काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ‘उज्यालो नेपाल’ समूहका संरक्षक कुलमान घिसिङबीच भएको राजनीतिक सहमति अन्ततः भाँडिएको छ।
रास्वपाको उपसभापति बनेर आगामी निर्वाचनमा जाने तयारीमा रहेका घिसिङसँगको एकता प्रक्रिया सहमतिविपरीतका माग आएपछि अघि नबढेको हो ।
रास्वपा स्रोतका अनुसार पुस १४ गते प्रारम्भिक सहमति भएपछि दुवै पक्षबीच ठोस समझदारीका लागि शुक्रबार र शनिबार रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच लगातार छलफल भएको थियो।
तर ती छलफलका क्रममा घिसिङले राखेका प्रस्तावहरू प्रारम्भिक सहमतिभन्दा फरक र अस्वीकार्य भएपछि एकता प्रक्रिया रोकिएको हो। छलफलमा घिसिङले मुख्यतः छ बुँदे माग अघि सारेको रास्वपा नेताहरूले बताएका छन्।
ती मागमा रास्वपाको सिद्धान्त परिवर्तन, वरिष्ठ उपसभापति र महामन्त्री पद आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन गर्नुपर्ने तथा आफ्नो पक्षका ३० जनालाई केन्द्रीय सदस्य बनाइनुपर्ने प्रस्ताव समावेश थिए।
त्यस्तै, प्रत्यक्ष निर्वाचनका उम्मेदवारहरूको संख्या आफ्नो पक्षलाई सुनिश्चित गर्नुपर्ने, उम्मेदवार चयन गर्ने अधिकार आफूलाई दिनुपर्ने र निर्वाचनपछि बन्ने सम्भावित सरकारमा आफ्ना पक्षका लागि निश्चित पदहरू अहिले नै टुंग्याइनुपर्ने माग पनि घिसिङले राखेको बताइएको छ।