एजेन्सी। बैंककबाट थाइल्याण्डको उत्तर पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
समाचार संस्था अलजजिराका अनुसार, आज बिहान बैंककबाट २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा उक्त दुर्घटना भएको हो ।
उक्त रेल थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो ।
एउटा उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमा खसेको थियो । क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागी समेत भएको थियो।
यस्तै स्थानिय प्रहरीका अनुसार दुर्घटनामा ५५ जना घाइते भएका छन् र अहिले पनि दुर्घटना स्थलमा उद्धार कार्य जारी छ । आगलागीलाई भने नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।