काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले पहिलो पटक राजनीतिक सभालाई सम्बोधन गर्दै मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर मात्र होइन, सही मान्छेहरू आउनेवाला भएकाले घन्टीमा भोट हाल्न आह्वान गरेका छन्।
सोमबार जनकपुरमा आयोजित घोषणा सभामा बालेनले भने–‘मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर घन्टीमा भोट हाल्ने होइन, सही मान्छे आउनेवाला छन्, त्यही भएर घन्टीमा भोट हाल्नुस्। सही समय आउनेवाला छ, त्यही भएर घन्टीमा भोट हाल्नुस्। सही सरकार आउनेवाला छ, त्यही भएर घन्टीमा भोट हाल्नुस्।’
आफ्नो पहिलो राजनीतिक सभामा मैथिली भाषामा भाषण गर्दै बालेनले काठमाडौंमा अधिकार माग्न होइन, घुम्न जानुपर्ने गरी प्रदेशलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
मिटरव्याज पीडित र उखु किसानहरू आफ्नो माग लिएर काठमाडौं आउनुपरेको प्रसंग उल्लेख गर्दै बालेनले भने–‘मैले काठमाडौंको मेयरका रूपमा उनीहरूलाई केही गर्न सकिनँ।’
आफू ४ वर्षसम्म काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका समस्या समाधान गर्न नसकेर मुकदर्शक बन्नुपरेको उनले बताए । उनले उनले माइतीघर मण्डलामा उखु किसानदेखि मिटरब्याज पीडितसम्मको आन्दोलन हुँदा आफू मुकदर्शक बनेर बस्नुपरेको बताए ।
काठमाडौंको मेयरका रुपमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्याएको बताउँदै प्रधानमन्त्री हुँदा के–के गर्न सकौंला ? भन्दै उनले जनतासँग नै प्रश्न गरेका थिए ।
बालेनले भने–‘काठमाडौंको मेयरको रुपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?’