ललितपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले नयाँ दलको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्ट विचार, दर्शन र राजनीतिक एजेन्डाविहीन समूहको संज्ञा दिएका छन् ।
शुक्रबार पार्टीको ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ को चुनाव परिचालन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले रास्वपा पार्टीभन्दा बढी “विचारविहीनको चौतारी” जस्तो भएको टिप्पणी गरेका हुन् ।
उनले पार्टी बन्न स्पष्ट विचार, दर्शन, राजनीति, संगठन र इतिहास आवश्यक पर्ने उल्लेख गर्दै रास्वपामा यी आधार नै नदेखिएको दाबी गरे।
‘पार्टी बन्न विचार, दर्शन, राजनीति, एजेन्डा, संगठन र इतिहास चाहिन्छ,’ पुनले भने, ‘विचार के हो थाहा छैन, नीति के हो थाहा छैन, इतिहास के हो त्यो पनि छैन। कोही कताबाट, कोही कताबाट आएको छ। चौतारीमा भेटेर एक ठाउँ जम्मा भएको छ र नयाँ पार्टी भनेको छ।’
पुनले २०७९ सालको निर्वाचनमा पुराना दलप्रति असन्तुष्ट सहरी मतदाताको समर्थनका कारण रास्वपा विजयी भएको भए पनि यसपटक त्यसको प्रभाव कमजोर बन्दै गएको दाबी गरे।
विशेषगरी काठमाडौंका २, ६, ७ र ८ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाप्रतिको लहर घट्दै गएको उल्लेख गर्दै उनले मतदाताले संगठन र विचार भएका राजनीतिक दललाई जिताउनुपर्ने महसुस गर्न थालेको तर्क गरे। ती क्षेत्रमा रास्वपाका उम्मेदवार पराजित हुने दाबी पनि उनको थियो ।