काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको डस्टबिनबाट सुन निकाल्दै गर्दा एक सरसफाई कर्मचारी पक्राउ परेका छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् ।
मंगलबार बिहान साढे सात बजेतिर ती कर्मचारीलाई डस्टबिनमा फोहोर जम्मा गरिएको प्लास्टिकको थैलोबाट सुन निकाल्दै गरेको अवस्थामा पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।
उनी ४ दशमलव ४ ग्राम सुनसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनी १५ वर्षभन्दा लामो समयदेखि विमानस्थलभित्र काम गर्दै आएका थिए।
ती कर्मचारीले उक्त सुन डस्टबिनमा भएको सूचना कसरी पाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका कर्मचारीलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार विभागमा जिम्मा लगाएको छ।