एजेन्सी । बेलायती सरकार विवादित पूर्वमन्त्री पिटर मन्डेल्सनलाई अमेरिकामा बेलायतको राजदूत नियुक्त गर्ने निर्णयसम्बन्धी कागजात सार्वजनिक गर्न सहमत भएको छ।
मन्डेल्सनको अमेरिकी कुख्यात यौन अपराधी जेफ्री एपस्टिनसँग मित्रता रहेको खुलासापछि बेलायतको राजनीति तरंगित बनेको छ।
एपस्टिनले सन् २०१९ मा जेलमै आत्महत्या गरेका थिए। उनी सन् २००८ मै यौन अपराधमा दोषी ठहर भइसकेका थिए। तर सार्वजनिक भएका दस्तावेजअनुसार त्यसपछि पनि मन्डेल्सनले एपस्टिनसँग सम्बन्ध कायम राखेको देखिएको छ।
यद्यपि यी विषयबारे जानकारी हुँदाहुँदै पनि सन् २०२४ मा मन्डेल्सनलाई वासिङ्टनस्थित बेलायती राजदूत नियुक्त गरिएको थियो। यस घटनापछि बेलायती प्रधानमन्त्री कियर स्टार्मर विपक्षीको तीव्र आलोचनामा परेका छन्।
प्रधानमन्त्री स्टार्मरले मन्डेल्सन र एपस्टिनबीच मित्रता रहेको थाहा भएको स्वीकार गरेका छन्। तर उनले यसको “गहिराइ” थाहा नभएको दाबी गरेका छन्।
यसैबीच अमेरिकी न्याय विभागले गत हप्ता मन्डेल्सन–एपस्टिन मित्रतासम्बन्धी कागजात सार्वजनिक गरेपछि थप तथ्य बाहिर आएको थियो। नयाँ विवरण सार्वजनिक भएसँगै बेलायती सरकारले अन्ततः मन्डेल्सनलाई पदबाट हटाएको छ।
प्रधानमन्त्री स्टार्मरले मन्डेल्सनमाथि कडा टिप्पणी गर्दै भने, 'मन्डेल्सनले हाम्रो देश, संसद् र मेरो पार्टीलाई धोका दिए। उनको नियुक्तिमा मलाई खेद छ। यदि यी कुरा त्यतिबेला थाहा भएको भए उनी सरकारनजिक पनि नआउने थिए।'
उनले एपस्टिनका पीडितहरूसँग माफी माग्दै थप भने, 'मन्डेल्सनका झूटहरूमा विश्वास गरेकोमा म क्षमा माग्छु।”