काठमाडौं । ५७ हजार अमेरिकी डलरसहित पक्राउ परेका एक अभियुक्तलाई राजश्व अनुसन्धान विभाग र सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको छ ।
प्रहरीले गत ३० पुसमा सिन्धुलीको खुर्कोटमा ५७ हजार डलरसहित दुई जनालाई पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागले उनीहरुमाथि अनुसन्धान गरेकोमा एक जनालाई मात्र मुद्दा चलाएर अर्कालाई उन्मुक्ति दिइएको छ।
इप्रका खुर्कोट र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बा १६ च ८०४८ नम्बरको सुमोमा सवार युवराज नेवार र बिक्रम योङहाङलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये राजश्व अनुसन्धान र सरकारी वकिलले नेवारलाई मात्र मुद्दा चलाएर अर्का युवकलाई उन्मुक्ति दिएको हो ।
डलर नेवारसँग मात्र भेटिएको र उनले लिफ्ट दिएको भन्ने बयान गर्न लगाएर यसरी उन्मुक्ति दिइएको हो । जबकी निजी गाडीमा काठमाडौंदेखि झापासम्म लिफ्ट दिएको भन्नु आफैंमा अविश्वसनीय छ ।
गाडीमा अन्य व्यक्ति सवार थिएनन् । त्यती धेरै डलर बोकेर कोही व्यक्ति अर्काको निजी गाडीमा लिफ्ट मागेर काठमाडौंदेखि झापा कसरी जानसक्छ भनेर अनुसन्धान गरिएको छैन ।
कतिसम्म भने आरोपी नेवार र चालक योङहाङबिचको टेलिफोन सम्पर्कको विवरण समेत हेरिएको छैन । सिसिक्यामेराको फुटेज हेरिएको छैन ।
बिस्तृत अनुसन्धान गर्दा गाडीका मालिक समेत तानिने भएपछि यसरी चलखेलका आधारमा उन्मुक्ति दिइएको हो । यस्तो अपराधमा गाडी समेत जफत हुनेमा त्यसमा पनि चलखेल भएको छ ।
राजश्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत रहेका बद्री कुमार कार्कीले यसमा मुख्य चलखेल गरेका हुन् ।
सोही आधारमा आरोपी पक्षले जिल्ला सरकारी वकिल कार्यालय, सिन्धुलीलाई पनि प्रभावमा पारेको थियो । विस्तृत अनुसन्धान नहुदा डलर तस्करी गर्ने एक मुख्य गिरोहले उन्मुक्ति पाएको छ ।
यसमा राजश्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालको भूमिका पनि शंकास्पद देखिएको छ। महानिर्देशक चिलुवालले न्युरोडका केही सुन पसले र मारवाडी व्यापारीहरुलाई समेत बयानमा बोलाएर भित्रभित्रै मोलमोलाई गरिरहेको स्रोत बताउँछ ।
पछिल्लो समय सरकार चुनावमा केन्द्रीत भएको मौका छोपेर विभागमा यस्ता सेटिङका धन्दा मौलाएको छ।