काठमाडौं । वैदेशिक रोजगारीको बहानामा मोटो रकम ठगी गरेको आरोपमा काठमाडौंबाट पाँच जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका–२ घर भएकी ४३ वर्षीया कोपिला शर्मा, काठमाडौं महानगरपालिका–२६ बस्ने धनकुटाको धनकुटा नगरपालिका–२ घर भएका ३१ वर्षीय सन्तोष राई, ललितपुरको धापाखेल बस्ने काठमाडौंको कीर्तिपुर नगरपालिका–२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया बिन्दा महर्जन र बुढानीलकण्ठ नगरपालिका–११ बस्ने काभ्रेको चौँरीदेउराली–९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।
प्रहरीका अनुसार, पक्राउ परेकामध्ये कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रुपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रुपैयाँ, विना र बिन्दाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रुपैयाँ र सन्तोषले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७० हजार रुपैयाँ असुलेका थिए । रकम असुलेपछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।
रकम लिएपछि सम्पर्कविहीन भएको पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विना र विन्दालाई काठमाडौं महानगरपालिका-११ बाट, कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट, कोपिलालाई काठमाडौंको चन्द्रागिरी नगरपालिका-१४ बाट र सन्तोषलाई काठमाडौै महानगरपालिका-२६ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।