रामेछाप । रामेछापमा भएको बस दुर्घटनापछि आन्दोलनमा उत्रेका मृतकका आफन्त तथा घाइतेका परिवारले आन्दोलन स्थगित गरेका छन् ।
जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष र अरनिको यातायातबीच भएको सहमतिपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।
गत मंगलबार रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो ।
दुर्घटनामा परी बस धनी लिखु तामाकोशी गाउपालिका वडा नं –४ का दिपेश बस्नेत र उनका आफ्नै भतिज दिपेन्द्र बस्नेत (काका, भतिजा) र सोहस् पालिका वडा नं –७ तिल्पुङका एकै परिवारका ४ जना सहित १२ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए ।
त्यसपछि दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै बुधबार मन्थली नगरपालिका– २ भुत्याहा खोला छेउमा टिफर तेर्स्याएर यातायात अवरुद्ध गरेका थिए ।
जसकारण रामेछापबाट काठमाडौं र काठमाडौंबाट रामेछाप र ओखलढुंगाका विभिन्न भागहरूका लागि छुटेका बसहरू गन्तव्यमा नपुगी बाटोमै रोकिएका थिए ।
आज दुवै पक्षबीच दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति दिइने सहमति भएको छ । सहमतिमा सवारी चालकलाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । दुर्घटनामा हराइरहेका आशंका गरिएकाको खोजी जारी राख्ने र हराइरहेका यात्रुको सम्बन्धमा पनि क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराइने भएको छ ।
यस्तै, पीडित पक्षबाट प्राप्त मागपत्र र निवेदन कार्यान्वयन र सहजीकरणका लागि अरनिको यातायात, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने साथै पीडित पक्षबाट गरिएका विरोधका सबै कार्यक्रमहरू स्थगित गर्ने सहमति बनेको छ ।
सहमतिपछि आफन्तले शव परीक्षण गरी दाहसंस्कारका लागि लगेका छन् ।