बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र संकटको समयमा विभिन्न कम्युनिष्ट पार्टीबिच सहकार्य हुँदै आएको बताएका छन् ।
आज गलकोटमा आयोजित नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले जनमोर्चासँगको चुनावी तालमेलले देशभर एकताको सन्देश दिएको बताएका हुन् ।
उनले भने- 'विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै आएका छौँ । यसपटक पनि देशलाई सङ्कटबाट टार्न कार्यगत एकता र गठबन्धन हुन्छ । गत भदौँ २३ र २४ मा भएको आन्दोलनपछिको अवस्थालाई हेरेर हामीले पार्टी एकता र सहकार्य अगाडि बढाएका छौँ । त्यही क्रममा जनमोर्चासँग सहकार्य भएको हो ।'
संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताए ।