काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा विशेष मतदाता शिक्षा अभियान शुरु गरेको छ।
विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्दै आयोगले यस पटक आफ्नै नेतृत्वमा प्रभावकारी रूपमा उक्त अभियान शुरु गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी गराएका हुन्।
घिमिरेका अनुसार आजदेखि शुरु भएको यो अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ।
विगतमा स्थानीय तहका कर्मचारीहरूलाई स्वयंसेवकको रूपमा परिचालन गरिँदै आएकोमा यस पटक आयोगले प्रत्येक वडामा एक–एक जना आफ्नै स्वयंसेवक नियुक्त गरेको छ। स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएकाले यस पटक आयोगले आफैंले स्वयंसेवक छनोट गरी तालिम दिएर कार्यक्षेत्रमा खटाएको हो।
यी स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेश बुझेर मतदाताहरूलाई सही तरिकाले मतदान गर्ने विधि सिकाउनेछन्। यस पटकको मुख्य विशेषता ‘डिजिटल मतदाता शिक्षा’ रहेको सूचना अधिकारी घिमिरेले बताए। कागजको प्रयोगलाई न्युनिकरण गर्ने उद्देश्यले आयोगले पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिएको छ।
निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ मा उपलब्ध रहेका भिडियो, एनिमेसन र ब्रोसरहरू मतदातालाई देखाएर शिक्षा दिइनेछ। स्वयंसेवकहरूले घरदैलोमा जाँदा नमूना मतपत्र र स्वस्तिक छापको प्रयोग गर्दै मत बदर हुन नदिने तरिका सिकाउने घिमिरेले बताए।
सूचना अधिकारी घिमिरेकाअनुसार अभियानको प्रभावकारिता अनुगमन गर्न आयोगले प्रविधिको प्रयोग गरेको छ। हरेक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरूलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप ग्रुपमार्फत दैनिक रिपोर्टिङ र अनुगमन भइरहेको छ।