रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजीको अभिभावक नेकपा भएको दाबी गरेका छन् ।
गृहजिल्ला रुकुम पूर्वको चुनावी अभियानका क्रममा कार्यकर्तासँगको भेटघाटमा उनले जेनजीले नेकपा नै आफ्नो वास्तविक अभिभावक भएको बुझिसकेको दाबी गरेका हुन् ।
'जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई नै प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्। यसको अर्थ म आफैँ पदको भोको भएको होइन, बरु देश र जनताको बदलिँदो चाहना बुझ्नुपर्छ भन्न खोजेको हुँ,' मतदातासँगको संवादमा उनले भने ।
प्रचण्डले पछिल्लो समय जेनजी पुस्ताबाट देशको सही नेतृत्व गर्न र आन्दोलनमार्फत उठाएका माग सम्बोधन गर्न आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको दाबी गरेका छन् ।
जेनजीहरूले नेकपा नै अभिभावक हो भन्ने समेत बुझिसकेको उनले दोहोर्याए ।
साथै विरोधीहरूले आफू चुनाव जित्नमात्रै रुकुम आएको आरोप लगाए पनि १२ जिल्लाबाट एकल सिफारिस आएको र अन्ततः रुकुम पूर्व रोजेको उनले बताए ।