काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन २१ को निर्वाचनअघि राष्ट्रिय सहमति गरेर अघि बढ्न आग्रह गरेका छन् ।
बुधबार शाहले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै प्रजातन्त्रमा आवधिक निर्वाचन स्वभाविक भएपनि मुलुकमा अहिले राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने आवाज उठिरहेकोले सोही अनुसार अघि बढ्न आग्रह गरेका हुन् ।
उनले देश अहिले असामान्य र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै द्वन्द्व रोक्न र सद्भाव बढाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
'प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए तापनि यतिबेला मुलुकको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन् । त्यसैले राष्ट्रिय समस्याको समाधानका लागि सर्वपक्षीय पहल गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ । फेरि अर्को द्वन्द्व हुन नदिन सबैलाई समझदारीमा ल्याएर मात्रै निर्वाचनमा जाँदा देशले सही बाटो समात्ने थियो,’ पूर्वराजाले भनेका छन्।
उनले अधिकार मात्रै खोज्ने तर कर्तव्य पालना नगर्ने प्रवृत्ति बढेको बताए र सबैलाई कर्तव्यवोधको आधारमा देशलाई संकटबाट निकाल्न आग्रह गरेका छन्।
'देशको भूबनोट र प्रकृति अुनसाारको प्रणालीले मात्रै देशलाई स्थायित्व दिन सक्छ। कुनै व्यवस्थाका राम्रा र असल पक्ष राख्नुपर्छ। जुनै व्यवस्थामा पनि खराब र नराम्रा पक्ष हुन्छन्आमुल परिवर्तन र परिमार्जन गर्दै जनताको जीवन सरल र सहज बनाउँदै जानुपर्छ,' उनले थप भनेका छन् ।
हरेक व्यवस्थामा राम्रा र नराम्रा दुवै पक्ष हुने भन्दै त्यसलाई समयानुकुल अघि बढाउनुपर्ने पनि बताए ।
त्यस्तै केही महिनाको झापा बसाइपछि काठमाडौं फर्किँदा गत फागुन २१ गते स्वागत गर्ने सर्वसाधारण, आदिवासी र नागरिकप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।