'शुभेच्छुक र समर्थकहरुसँग संवाद नै नगरी सोझै निर्मल निवास लागे'
काठमाडौं । झापा बसाई सकेर चार महिनापछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका हुन् ।
उनी काठमाडौं पुगे लगत्तै विमास्थलबाहिर उनका शुभेच्छुक र समर्थकहरुसँग संवाद नै नगरी सोझै निर्मल निवासतिर लागेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै दुर्गा प्रसाईंसहित राजावादी समूहले विमानस्थलमा उपस्थितिका लागि आह्वान गरेका थिए ।
त्यसैले स्थानिय प्रशासनले बिहीबार मात्रै विमानस्थल क्षेत्रमा ठूलो संख्यामा हुने भेलामा रोक लगाउँदै निषेधाज्ञा जारी गरेको थियो।
तर राजावादी दलका कार्यकर्ता र ज्ञानेन्द्रका समर्थकहरु समेत विमानस्थल परिसरमा जम्मा भएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा लगायतका व्यक्तिहरू पनि विमानस्थल पुगेर स्वागतमा सहभागी भएका छन् ।
अहिले विमानस्थल आसपास सिनामंगल, तीनकुने लगायतका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिएको छ ।