काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल तथा उम्मेदवारलाई निर्बाध र स्वतन्त्र रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गरेका छन् ।
दशौँ निर्वाचन दिवसका अवसरमा सन्देश जारी गर्दै भण्डारीले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक तथा आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूति दिँदै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्ति, स्थिरता, समृद्धि र सुशासनको मूलमन्त्रसँग जोड्दै सबै सरोकारवालासँग समन्वय, सहकार्य र साझेदारी गरेर निर्वाचन सफल बनाइने विश्वास व्यक्त गरेका छन्।
‘स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचनलाई आत्मसात् गर्दै यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु,’ भण्डारीले सन्देशमा उल्लेख गरेका छन्।
नेपालमा पहिलो आमनिर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो। बालिग मताधिकारको आधारमा सम्पन्न उक्त निर्वाचनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउने गरिन्छ।
भण्डारीका अनुसार, गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको निर्वाचनको मतदान दिन आउन अब १४ दिन मात्र बाँकी छ। यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभई आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहने उनको भनाइ छ।
उनले लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न आवधिक निर्वाचनको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार भएको बताएका छन्।
‘आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ। स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो,’ उनले भनेका छन्।