काठमाडौं। बिहीबार बिहान टुँडिखेलमा विशेष समारोह आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको छ ।
नेपालमा २००७ सालको ऐतिहासिक क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष पनि उत्साहपूर्ण रूपमा मनाइएको हो ।
१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको अवसरमा हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।वि।स। २००७ साल फागुन ७ गतेका दिन राणा शासनको अन्त्य भएको थियो ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल,नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठितव्यक्तिहरुको सहभागिता रहेको थियो ।
नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा नेपाली सेनाद्वारा मार्च पास, झाँकी, सांस्कृतिक नृत्य तथा सांगीतिक धुनहरू प्रस्तुत गरिएका थिए ।
प्रजातन्त्र दिवसले नेपाली जनताको लामो संघर्ष र बलिदानको स्मरण गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको सन्देश प्रवाह गरेको छ । दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदा पनि दिइएको छ ।
