काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने घोषणा गरेको छ ।
महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले सहयोगको अपिल गरे लगत्तै केएमसीले यस्तो घोषणा गरेको हो ।
साम्बाका अनुसार कतारको अस्पेटार अस्पतालमा गरिएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसिएलमा गम्भीर समस्या देखिएपछि पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ ।
सोमबार मात्रै उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूसँग आफ्नो उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोगको याचना गरेकी थिइन् ।
साम्बाको उक्त अपिल सार्वजनिक भएपछि केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले यदि साम्बा नेपालमै उपचार गर्न तयार भए अस्पतालले सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।
दाहालले भने- ‘राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ ।’
यसअघि नेपाली कांग्रेसले पनि साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।