काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यस वर्षको होली पर्वमा राजनीतिक प्रचार सामग्री प्रयोगमा कडाइ गरेको छ ।
प्रशासनले बिहीबार सूचना जारी गर्दै दल वा उम्मेदवारको चुनाव चिन्ह, लोगो वा तस्बिर अंकित कपडा तथा सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ।
फागुन १८ गते पर्ने फागुपूर्णिमा (होली) लाई मर्यादित र आचारसंहिताअनुकूल बनाउन प्रशासनले निर्वाचन आयोग नेपाल द्वारा जारी निर्वाचन आचारसंहिता, २०८२ को स्मरण गराएको छ।
सूचनामा उल्लेख भएअनुसार आचारसंहिताको परिच्छेद ४ को दफा १३ (घ) बमोजिम जुलुस, आमसभा वा प्रचारप्रसारमा सहभागी व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेष्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला प्रयोग गर्न पाउने छैनन् ।
सोही व्यवस्थालाई होली पर्वमा समेत लागू गर्दै चुनाव चिन्ह वा उम्मेदवारको तस्बिर अंकित भेष्ट, टि–सर्ट, कमिज, गम्छालगायतका कपडा प्रयोगमा पूर्ण रोक लगाइएको प्रशासनले स्पष्ट पारेको छ ।
निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले यस वर्षको होली आफ्नै घर कम्पाउन्डभित्र सीमित राख्न आग्रह गरेको छ। अरूलाई बाधा नपर्ने गरी आफन्त र साथीभाइबीच मात्रै चाड मनाउन सर्वसाधारणलाई अपिल गरिएको छ।
खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्ने, मादक पदार्थ बिक्री–वितरण तथा सेवन गर्ने जस्ता गतिविधिमा पनि रोक लगाइएको छ ।
कसैको इच्छाविपरीत रङ दल्ने, पानीको लोला वा फोहोर पदार्थ हान्ने, बाटोमा होहल्ला र झैझगडा गर्ने कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
.jpg)