काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणको बाटो रोज्ने कि विध्वंसको बाटो रोज्ने भनी प्रश्न गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा निर्वाचनलक्षित अपिल गर्दै उनले देश बचाउने कि नबचाउने’ भनी प्रश्न गरेका हुन् ।
'यो सोध्न मिल्ने प्रश्न होइन तर सोध्नैपर्ने भएको छ । निर्माणको बाटो रोज्ने कि विध्वंसको बाटो रोज्ने वेला आएको छ। तपाईँ निर्माणको बाटोमा कि ध्वंसको बाटोमा ? यतिवेला तपाइँले कित्ता प्रष्ट गर्नुभएन बोल्नुभएन भने तपाइँले आफूले नै आफूलाई कहिल्यै माफ गर्नेछैन,' उनले भनेका छन् ।
उनले राष्ट्रको दीर्घकालीन भविष्य, स्थायित्व र संस्थागत व्यवस्थाको संरक्षणसँग सम्बन्धित विषयमा नागरिकले अब मौन बस्न नहुने उल्लेख गरे । आफ्नो अभिव्यक्ति र निर्णयप्रति भविष्यमा आत्मग्लानि नहोस् भन्ने सन्देश दिँदै उनले नागरिक जिम्मेवारी वहन गर्ने समय आएको बताए ।
पूर्वप्रधानमन्त्री ओलीले निर्वाचित सरकारविरुद्ध अस्थिरता निम्त्याउने गतिविधि भएको दाबी गर्दै त्यस क्रममा प्रतिनिधि सभा विघटनसम्मको अवस्था सिर्जना गरिएको प्रसंग उल्लेख गरे । उनले वर्तमान सन्दर्भमा नागरिकले शान्त र विवेकपूर्ण ढङ्गले मुलुकको संरक्षण गर्ने वा नगर्ने भन्ने प्रश्नमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याए ।
विगतमा आफ्नाविरुद्ध विभिन्न भ्रम र आरोपहरू फैलाइएको स्वीकार गर्दै उनले आफूबाट केही कमजोरी भएको हुन सक्ने संकेत गरे । तथापि राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानका सवालमा कुनै प्रकारको सम्झौता नगरेको र नगर्ने प्रतिबद्धता व्यक्त गरे ।