कैलाली । होली पर्व मनाउने क्रममा उत्पन्न सामान्य विवाद उग्र बन्दै जाँदा कैलालीको धनगढी उप–महानगरपालिका–१३ राजपुर क्षेत्रमा प्रहरीसहित तीन जना घाइते भएका छन् ।
मंगलबार साँझ करिब ६ः३० बजे जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुर नजिक दुई टोलका युवाबीच होली खेल्ने क्रममा बादविवाद सुरु भएको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार पुरानो रिसइबीरिसीबीको निहुँमा विवाद चर्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ढुंगामुढाबाट प्रहरी सहायक निरीक्षक डबल बहादुर साउद गम्भीर घाइते भएका छन्। यस्तै, प्रहरी निरीक्षक बलराम पाण्डेय र स्थानीय युवक लोकेश खत्री पनि घाइते भएका छन् । असई साउँदको टाउकोमा चोट लागेको छ ।
उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घटनाको जानकारी पाउनासाथ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत सो विद्यालयमा खटिएको प्रहरी टोली र धनगढीबाट थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।
तर स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेकै बेला करिब २०० देखि २५० जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा प्रहार गरेको बताइएको छ।
उग्र भीड नियन्त्रणका लागि प्रहरीले टाइप–७७ पेस्तोलबाट ६ राउन्ड हवाई फायर गर्नुपरेको जनाएको छ। ढुंगामुढाबाट जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुखले प्रयोग गर्ने बीएसी ३४८० नम्बरको प्रहरी भ्यानको अगाडिको सिसा र बाँया साइडको झ्यालमा क्षति पुगेको छ।
प्रहरीले धनगढी उप–महानगरपालिका–१३ बस्ने रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।