धनगढी । कैलालीमा युवाहरूका दुई समूहबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ युवाहरूका दुई समूहबीच भएको विवादले उग्र रूप लिँदा झडप भएको हो ।
स्थिति तनावग्रस्त बनेपछि प्रहरीले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । झडपमा केही व्यक्तिहरू घाइते भएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।
झडप नियन्त्रण गर्ने क्रममा केही प्रहरी कर्मचारीसमेत घाइते भएका छन् भने प्रहरीको एउटा सवारी साधनमा सामान्य क्षति पुगेको जानकारी दिइएको छ ।
हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ ।