पर्सा । वीरगन्ज बजार क्षेत्रमा आइतबार साँझ सवारीसाधन पार्किङको विषयलाई लिएर दुई समुदायबीच झडप भएको छ । सामान्य भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा ढुंगामुढासम्मको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार एक व्यक्तिले आफ्नै घरअगाडि सडक छेउमा जिप रोकेका थिए । सोही क्रममा पछाडिबाट आएको मोटरसाइकललाई अगाडि बढ्न अवरोध भएपछि चालकले हर्न बजाएका थिए। यही विषयमा सुरु भएको भनाभनले पछि ठूलो रूप लिएको हो ।
पर्साका प्रहरी उपरीक्षक नरेश सुवेदीले भने, 'यो कुनै ठूलो पूर्वनियोजित घटना होइन। एउटा गाडी सडकमा रोकिँदा पछाडिबाट आएको बाइकलाई अवरोध भएपछि हर्न बजाएको विषयबाट विवाद सुरु भएको हो।'
विवाद बढ्दै जाँदा घटनास्थलमा करिब दुईदेखि चार सय मानिसहरू जम्मा भएर होहल्ला गरेका थिए। केही समय सामान्य ढुंगामुढासमेत भएको प्रहरीले जनाएको छ।
स्थिति थप तनावपूर्ण बन्न नदिन प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो। आवश्यक सामान्य बल प्रयोग गर्दै भीड नियन्त्रणमा लिइएको एसपी सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार हाल घटनास्थलको अवस्था पूर्ण रूपमा सामान्य छ र सुरक्षा व्यवस्था कडा पारिएको छ।
यस घटनामा हालसम्म कसैलाई पक्राउ नगरिएको तथा स्थिति शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।