बाजुरा । बाजुरा र हुम्ला जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको लाम्पाटा–थाली क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण र पुरानो सीमा विवादलाई लिएर मंगलबार बिहान भएको झडपमा प्रहरीसहित पाँच जना घाइते भएका छन् ।
स्थिति केही समय तनावपूर्ण बनेपछि प्रहरी र स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा लिएको जनाएको छ ।
घाइते हुनेमा बाजुराको हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन्।
उनीहरूको ढाड, गर्धन, छाती र खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार, हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले सीमा विवाद उठाउँदै विरोध जनाएपछि दुवै पक्षबीच भनाभन सुरु भई झडपमा परिणत भएको हो ।
त्यस समयमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं” अभियान अन्तर्गतको टोली शैपाल हिमालको बेस क्याम्पतर्फ गइरहेको बेला घटनास्थलमा पुगेपछि अवस्था थप तनावपूर्ण बनेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भ्रमण टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा थाली गाउँका करिब ३०० स्थानीय आक्रोशित भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। त्यसपछि मेयर हमालसहितको टोलीलाई अघि बढ्न नसकेर फर्किएको छ ।
सीमा विवाद पुरानै भए पनि लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले उक्त क्षेत्र आफ्नो परम्परागत प्रयोगमा रहेको दाबी गर्दै चौकी निर्माणको विरोध गर्दै आएका छन् ।