सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौनअवधि उल्लंघनको आशंकाबीच अशेश्वर यादव पक्राउ परेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट सिरहा क्षेत्र नम्बर ३ का उम्मेदवार यादव नगद रकमसहित नियन्त्रणमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई गएराति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो।
जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। गाडीबाट मतपत्रसमेत फेला परेको बताइएको छ । घटनापछि उम्मेदवार यादवसहित गाडीमा सवार पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।