Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन, ओली, गगन र प्रचण्डसहित यी उम्मेदवारले आफैँलाई भोट हाल्न नपाउने

बालेन, ओली, गगन र प्रचण्डसहित यी उम्मेदवारले आफैँलाई भोट हाल्न नपाउने

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख दलका शीर्ष नेतासहित करिब दुई दर्जन उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने भएका छन् ।

मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएपछि उनीहरू आफ्नै मताधिकार प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

केपी शर्मा ओली, गगन थापा, बालेन शाह र पुष्पकमल दाहाल जस्ता ‘भावी प्रधानमन्त्री’ का रूपमा अघि सारिएका नेताहरू नै यसपटक आफूलाई भोट हाल्न नपाउने सूचीमा छन् ।

ओली र बालेन झापा–५ बाट उम्मेदवार छन् । ओलीको मतदाता नामावली भक्तपुर–२ मा छ भने बालेनको काठमाडौं–२ मा ।

गगन थापा सर्लाही–५ बाट चुनाव लड्दैछन्, तर उनको नामावली काठमाडौं–४ मा छ। प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार छन्, जबकि उनको मतदाता नामावली चितवन–३ मा रहेको छ।

त्यस्तै रवि लामिछाने (चितवन–२ उम्मेदवार) को नामावली काठमाडौं–३ मा रहेकाले उनले पनि आफैंलाई मत दिन पाउने छैनन्।

उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार भए पनि उनको मतदाता नामावली मोरङमा छ। नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार छन्, तर उनको नामावली गोरखा–२ मा रहेको छ।

प्रदीप पौडेल काठमाडौं–५ बाट उम्मेदवार हुँदा उनको नाम तनहुँ–२ मा छ। स्वर्णिम वाग्ले तनहुँ–१ बाट उम्मेदवार भए पनि उनको नामावली गोरखा–१ मा छ।

रवीन्द्र मिश्र काठमाडौं–१ बाट उम्मेदवार बनेका छन्, तर उनको मतदाता नामावली ललितपुरमा छ।

भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार छन्, जबकि उनको नामावली मोरङ–३ मा रहेको छ। डा. शेखर कोइराला मोरङ–६ बाट उम्मेदवार भए पनि उनी पनि आफ्नै मतबाट वञ्चित हुनेछन्।

देवेन्द्र पौडेल (नवलपरासी–२), प्रेम आले (कैलाली–५), विनोद चौधरी (नवलपरासी–१), शंकर भण्डारी (तनहुँ–२) लगायतका उम्मेदवारले पनि यसपटक आफूलाई भोट हाल्न नपाउने भएका छन्।

यसैगरी विभिन्न जिल्लाबाट उम्मेदवारी दिएका अन्य उम्मेदवारहरू पनि मतदाता नामावली फरक क्षेत्रमा रहेकाले मतदान अधिकार प्रयोग गर्न नपाउने अवस्थामा पुगेका छन्।

नेपालको निर्वाचन प्रणालीअनुसार मतदाता नामावली दर्ता भएको निर्वाचन क्षेत्रमै मात्र प्रत्यक्षतर्फ मतदान गर्न पाइन्छ। उम्मेदवारले देशको जुनसुकै क्षेत्रबाट चुनाव लड्न पाउने भए पनि, आफ्नो मतदाता नामावली सारेर अद्यावधिक नगरेसम्म आफैंलाई भोट हाल्न भने पाउँदैनन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077