चितवन । चितवन क्षेत्र नम्बर–३ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरसहित जितको नजिक पुगेकी छन्।
हालसम्म ७० हजार ५२९ मत गणना हुँदा गौतमले ४१ हजार १६३ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेणु दाहालले १५ हजार ६६२ मत पाएकी छन्।
हालसम्मको मतपरिणामअनुसार गौतमले दाहालभन्दा २५ हजार ५०१ मतान्तरले अग्रता कायम गरेकी छन्।
यसैगरी नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ५ हजार ३५४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शंकरराज थपलियाले ३ हजार ८७४ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर थापाले ८५६ मत प्राप्त गरेका छन्।
फागुन २१ मा सम्पन्न निर्वाचनमा यस क्षेत्रमा १ लाख ५३ मत खसेको थियो। ठूलो मतान्तरसहित अग्रता कायम राखेकाले गौतमको जित लगभग निश्चितजस्तै देखिएको छ।
यद्यपि मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।