काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई आगामी सरकारले देशमा सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले
परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै रास्वपालाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना समेत दिएका हुन्।
घिसिङले नयाँ सरकारबाट हुने सकारात्मक कार्यमा आफ्नो पार्टीले साथ दिने र जनहित विपरीत कदम चालिएमा सडकबाटै खबरदारी गर्ने प्रष्ट पारेका छन्।
'चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ। जनताको परिवर्तन र आर्थिक समृध्दिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु। सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ। अन्त्यमा, चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु,' उनले लेखेका छन् ।
उज्यालो नेपाल पार्टीले निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गर्दै घिसिङले आफ्ना नेता-कार्यकर्तालाई निराश नहुन अपिल गरेका छन्। उनले लोडसेडिङ अन्त्य जस्ता उपलब्धिबाट जनताको विश्वास जितिएको भए पनि यसपटक मत परिणाम आफ्नो पक्षमा नआएको टिप्पणी गरेका छन्।
'हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ। लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ। तर चुनावमा हार प्राविधिक विषय मात्र हो। छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ,' उनले थप लेखेका छन् ।
उनले परिणामबाट निराश नभई उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये उज्यालो नेपाल पार्टीले कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेन। अध्यक्ष घिसिङ स्वयं काठमाडौं-३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेसँग पराजित भएका थिए।
उल्लेखनीय रूपमा, उज्यालो नेपाल पार्टी र रास्वपाबीच यसअघि एकता गर्ने सहमति भए पनि पछि ती दल अलग(अलग राजनीतिक यात्रामा अघि बढेका थिए।