Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको ६ बुँदे सार्वजनिक अनुरोध

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको ६ बुँदे सार्वजनिक अनुरोध

'सकेसम्म घरबाट बाहिर ननिस्कनु, सवारी साधनमा लिफ्ट दिनु'

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकालगायतका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । 

बुधबार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेपछि सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सतर्कता अपनाउन अनुरोध गरेका हुन् । 

नेपाल प्रहरीले नागरिकमा ६ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन, सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न  अनुरोध गरेको छ । 

विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरूले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । 

श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 

मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । यसअघि नै स्वास्थ्यको विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध पनि गरिसकेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077