काठमाडौं । बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन स्थानीयको अवरोधले रोकिएको छ ।
बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।
विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौंबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको एक स्थानीयले जानकारी दिएका छन् ।
नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् ।
यसअघि गत गत कात्तिकमा पनि उपत्यकाको फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयहरूले अवरोध गरेपछि काठमाडौंको फोहोर विसर्जन हुन सकेको थिएन।
बञ्चरेडाँडामा फोहोर विसर्जन हुन नसकेपछि काठमाडौं उपत्यकाका चोकचोकमा फोहोर थुप्रिएका थिए।
स्थानीयहरूले विसं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा दिनुपर्ने लगायत सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै स्थानीयले अवरोध गरेका थिए।
त्यसपछि कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो ।
विगतका सहमति कार्यान्वयन नहुँदा स्थानियले पटक पटक फोहर विसर्जन अवरोध गर्दै आएका छन् ।