एजेन्सी । इरानी सर्वोच्च नेता मुजतबा खामेनीले इजरायली आक्रमणमा मारिएका सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने धम्की दिएका छन् ।
राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार खामेनीले लारिजानीको हत्याका लागि जिम्मेवार व्यक्तिहरूले मूल्य चुकाउनुपर्ने धम्की दिएका हुन् ।
खामेनीले भनेका छन्, 'निसन्देह, यस्ता व्यक्तिको हत्याले उनको महत्वको हद र उनीप्रति इस्लामका शत्रुहरूको घृणालाई दर्शाउँछ ।'
हरेक रगतको आफ्नै मूल्य हुने भन्दै उनले सहिदहरूका अपराधी हत्याराहरूले चाँडै मूल्य चुकाउनुपर्ने बताएका छन् ।
अली लारिजानी इरानको ‘सुप्रिम नेशनल सेक्युरिटी काउन्सिल’का सचिव थिए । उनी इरानको सुरक्षा र राजनीतिमा निकै ठूला र प्रभावशाली व्यक्तित्व थिए ।
१७ मार्चमा इजरायलले एक हवाई आक्रमणमा उनको हत्या गरेको थियो । उक्त आक्रमणमा उनका छोरा र केही अंगरक्षकहरू पनि मारिएका थिए ।