Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हालसम्म मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले दर्ता गराए विवरण

हालसम्म मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले दर्ता गराए विवरण

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । मध्यपूर्वमा रहेका ८२ हजार एक सय नेपाली नागरिकले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा आफ्नो विवरण दर्ता गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त जानकारी दिएका हुन् । 

उनका अनुसार दर्ता भएकामध्ये सुरुमा करिब ६ हजार जनाले आफूहरू असुरक्षित रहेको बताएका थिए ।

इजरायल, अमेरिका र इरानबिच बढ्दो तनावका कारण मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको जनाइएको छ ।

क्षेत्रीका अनुसार प्रारम्भिक दिनमा सुरक्षा अवस्थाबारे जिज्ञासा आउने गरे पनि अहिले श्रम स्वीकृतिसम्बन्धी प्रश्न बढी आउने गरेका छन् । मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई)मा एक जना नेपाली नागरिकको दुःखद निधन भएको थियो। त्यस्तै, विभिन्न घटनामा परी २० जना नेपालीहरू सामान्य घाइते भएका छन्।

जसमध्ये १९ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने बाँकी एक जनाको अवस्था पनि सामान्य रहेको छ।

हवाई उडानमा आएको अवरोधका कारण विभिन्न देशका ट्रान्जिटमा रोकिएका नेपालीहरूको पनि सफल व्यवस्थापन गरिएको छ। दोहा र दुबईमा अब कुनै पनि नेपाली अलपत्र नरहेको र जेद्दामा रहेका ५२ जना हजयात्रीहरू नेपाल फर्किसकेको जानकारी दिइएको छ।

सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आवश्यक परे उद्धारका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077